सात  नोहाइड नियमहरु  (सम्पूर्ण मानवताको लागि)

तल सूचीबद्ध सात नियमहरू उत्पत्ति ९:१-१७  बाट हुन्, र तिनीहरूमध्ये केही नोआको समय भन्दा पहिले नै राम्रोसँग स्थापित भइसकेका थिए। वास्तवमा, परमेश्वरले पृथ्वीमा बाढी ल्याउनुको पछाडीको कारण भनेको मानिसहरूले आदमलाई दिएइका निर्देशनहरू पालन नगर्नु थियो। ती  मापदण्डहरू संसारभरका सबै मानिसलाई लागु हुन्छन्। यदि परमेश्वरले मानिसलाई जीवन जिउने मापदण्ड दिनुभएको थिएन भने, उहाँले मानिसलाई किन सजाय दिनुभयो? परमेश्वर न्यायी परमेश्वर हुनुहुन्छ, यसकारण प्रेरित पावलले रोमी ५:१३ मा यसो भनेका छन्, “व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।”

ती मध्ये केही नियमहरू आदमको समयदेखि नोआको समयसम्म सिकाइएका थिए। यहूदी बुझाइका अनुसार, यी नियमहरु सारा मानव जातिमा लागु हुन्छन् र यिनले सबै मानिसलाई मूर्तिपूजा, ईश्वरनिन्दा, हत्या, अनैतिक सम्बन्ध, चोरी तथा जीवित प्राणीको मासु खाने कुराबाट अलग रहन लगाउँछन् र व्यवस्थित कानुनी प्रणालीमा न्याय स्थापना गर्न लगाउँछन्  (t. Avodah Zara 8.4; b. Sanh. 52b; Gen. Rab. 16.6)। लेवीको पुस्तकले (लेवी १७-१८ मा) भूमिमा बसोबास गर्ने अपरिचितहरूको बारेमा यस्तै घोषणा गर्दछ, र येशूमा विश्वास गर्नेहरुको लागि प्रेरित १५:२० मा यरूशलेमको परिषदले पनि त्यस्तै घोषणा गर्दछ।

यी सात नियमहरू संसारभर सबैजनामा लागु हुन्छन्:

१. परमेश्वरको एकरुपतालाई कुनै पनि तरिकाले अपवित्र नगर्नु (मूर्तिपूजामा निषेध)।

२. आफ्नो सृष्टिकर्तालाई  नसराप्नु (निन्दामा निषेध)।

३. हत्या नगर्नु (मानव हत्या र चरित्र हत्या निषेध सहित)।

४. यौन अनैतिकता नगर्नु (यो नियम सिंगो राष्ट्रको हकमा पनि लागु हुन्छ)।

५. चोरी नगर्नु (बेईमानी, बलात्कार, र कसैको फाइदा उठाउन प्रतिबन्ध सहित)।

६. जिउँदो जनावरको अङ्ग नखानु (जिउँदै पशुलाई खाने कुरालाई निषेध गर्नु, र जनावरहरू प्रति क्रूर   नहुनु)।

७. न्यायालयहरु स्थापना गर्नु, र संसारमा न्याय सुनिश्चित गर्नु (मुद्धाहरुको विषयमा न्यायशास्त्र र अघिअघिका निर्णयहरुको प्रयोजन)।

बाइबलमा उल्लेख गरिएका यी सात नियमहरू नै अन्य सबै निर्देशनहरू (नियमहरु) का आधार हुन्। उदाहरणको लागि, ९ औं आज्ञाले भन्छ, “तिमीले आफ्नो छिमेकीको विरुद्ध झूटो गवाही दिनु हुँदैन”। यदि त्यहाँ कुनै अदालतहरू स्थापित छैनन् भने, कसैले कसरी झूटो साक्षी दिन्छ? साथै, प्रेरित पावलले गलाती ३:१७ मा भनेका छन्, “व्‍यवस्‍थाले त्‍यसभन्‍दा अघि परमेश्‍वरले पक्‍का गर्नुभएको करारलाई काट्‌दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो”।

वास्तवमा बाइबलमा ६१३ आज्ञाहरू उल्लेख गरिएका छन्, जो-हरु दश आज्ञाबाट नै उधृत गरिएका हुन्, र ती प्रत्येकले हामीलाई परमेश्वरलाई चिन्न र उहाँका मार्गहरू बुझ्न साहयता गर्छन्। जब परमेश्वरले सिनै पर्वतमा आफूलाई प्रकट गर्नुभयो र मोशा र इस्राएलका सन्तानहरूसँग नयाँ करार स्थापना गर्नुभयो, उहाँले पहिलेको करारलाई झन् बलियो बनाउँदै हुनुहुन्थ्यो।

हामी मुक्ति पाउनको लागि परमेश्वरको आज्ञाहरू पालन गर्दैनौं, हामी आज्ञाहरू परमेश्वरलाई बुझ्नको लागि पालन गर्छौं, र हामी तिनीहरूप्रति आज्ञाकारी छौं किनभने हामीले मुक्ति पाएका छौं।

परमेश्‍वरको सन्तानको रूपमा हाम्रो जिम्मेवारी चाहिँ उहाँको करारहरूको रक्षा गर्नु पनि हो, र उहाँले हामीलाई दिनुभएको अधिकारको क्षेत्रभित्र रहेर उहाँको आज्ञाहरू पूरा गरेर हामी त्यो काम गर्छौं। डिडाकेका अनुसार, प्रेरितहरूले यसो भनेर सिकाउने गर्थे, “यदि तपाईले परमेश्वरको सम्पूर्ण जुवा बोक्न सक्छ भने, तपाई सिद्ध हुनुहुनेछ। तर यदि तपाईले त्यो गर्न सक्षम हुनुहुन्न भने पनि, आफूले जे गर्न सक्नुहुन्छ त्यही गर्नुहोस्। अनि खाने कुराको विषयमा पनि, सकेसम्म आफूलाई सम्हाल्नुहोस्, तर मूर्तिहरूलाई बलि चढाइने कुराहरूको विरुद्धमा धेरै होशियार रहनु, किनभने त्यो मृत देवताहरूको सेवा हो।” अन्त्यमा, यो बुझ्न महत्त्वपूर्ण छ कि, बाइबलमा उहाँले दिनुभएका आज्ञाहरू मार्फत परमेश्वरलाई चिन्ने ६१३ तरिकाहरू छन्, र तिनीहरूलाई सिक्नको लागि जीवन भरि पनि लाग्नसक्छ ।