यो प्रश्नको छोटो उत्तर हो: तपाईं पश्चात्ताप गर्न चाहनुहुन्छ, अनि तपाईं परमेश्वरको करार स्वीकार गर्न चाहनुहुन्छ, र जसरी इजरायलका सन्तानहरूले प्रस्थान १९:८-११ मा भनेका छन्, “परमप्रभुले भन्नुभएको सबै कुरा हामीले गर्नेछौँ।” यस कुरालाई तपाईंले विश्वासद्वारा स्वीकार गर्नुपर्छ, अनि  परमेश्वरले तपाईंलाई त्यो गर्नको लागि अनुग्रह दिनुहुन्छ। परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई खोज्दा आफूले सिकेका कुराहरू लागू गर्दै तपाईले जीवनभर निरन्तर सुधार गर्दै पश्चात्तापको प्रक्रियाबाट भएर जानुहुन्छ। जबसम्म तपाईंले आफ्नो अध्ययनलाई जारी राख्नुहुन्छ र आफूले सिकेका कुराहरू लागू गर्नुहुन्छ, तपाईं बढ्दै जानुहुनेछ। तपाईं विश्वासद्वारा भरोसा गर्नुहुन्छ कि, परमेश्वरले तपाईंमा काम गरिरहनु हुनेछ, र उहाँले सुरु गर्नुभएको काम पूरा गर्नुहुनेछ। येशू नयाँ करारको मध्यस्थ हुनुहुन्छ, र जब तपाईंले येशूलाई ग्रहण गर्नुहुन्छ, उहाँको चेला बन्नु र यसको अर्थ के हो भनेर जान्ने जिम्मेवारी तपाईको हुन्छ। चेलाको चारवटा मुख्य जिम्मेवारीको बारेमा तपाईले यो सामग्री अध्ययन गरेर जान्न सक्नुहुनेछ।

यो पडकास्टले एक जना व्यक्तिलाई नयाँ करार, र मसीहको भूमिका बुझ्न मद्दत गर्छ।

तपाईंले येशूलाई ग्रहण गर्नुहुँदा बुझ्नु पर्ने केही मुख्य सिद्धान्तहरू:

  1. परमेश्वरको राज्यका सिद्धान्तहरुलाई स्वीकार गर्नुहोस्। परमेश्वरले सुरुदेखि नै आफ्नो वचनद्वारा स्थापना गर्नुभएको प्रक्रियालाई स्वीकार गर्नुहोस्। लूका २४:२५-२७ मा येशूले मोशाबाट सुरु गरेर अगमवक्ताहरूले बोलेका सबै कुरामा विश्वास गर्नुपर्छ भनी बताउनुभयो, अनि धर्मशास्त्रमा उहाँको बारेमा भनिएका कुराहरु पनि तिनीहरूलाई व्याख्या गरिदिनुभयो। बाइबल परमेश्वरको प्रक्रिया सिक्ने एउटा मार्गचित्र हो।
  2. परमेश्‍वरका आज्ञाहरू पालन गर्न प्रतिबद्ध हुनुहोस् र उहाँले नै तपाईलाई यहाँ राख्नुभएको भनि सोचेर परमेश्वरको करारलाई कायम राख्न लागि पर्नुहोस्। प्रेरित पावलले भने कि, यदि तपाईं यहूदी हुनुहुन्छ भने यहूदी नै भईराख्नुहोस्, यदि तपाईं अन्यजाति हुनुहुन्छ भने अन्यजाति भईराख्नुहोस् (१ कोरिन्थी ७:१७-२०)। तैपनि, कहिँ न कहिँ सधैं यस्ता व्यक्तिहरू हुन्छन्, जसले आफ्नो मनका कुराहरुमा लागेर यहूदी जातिमा सामेल हुने प्रयास गर्छन्, तर मुक्ति पाउनको लागि त्यसो गरिराख्नु पर्दैन।
  3. पश्चात्तापको प्रक्रियाबाट भएर जानुहुँदै गर्दा तपाईंले विश्वास गर्नुभएका कुरा अनुसार जिएर यस संसारको उद्धारमा परमेश्वरसँग सहकार्य गर्नुहोस् (१ कोरिन्थी ३:९, याकूब २:१४-२६)। 
  4. येशूलाई इजरायलको राजा (सारा संसारको शासक) को रूपमा स्वीकार गर्नुहोस् र राजा येशूप्रति नै आफ्नो भक्ति राख्नुहोस् (जकरिया १४:९)। यहूदी विश्वासको १३ वटा सिद्धान्तहरू मध्ये एउटा मसीहमा अर्थात्, यहूदी राजामा विश्वास गर्नु हो, जसले यस संसारमा शासन गर्नुहुनेछ र शान्ति ल्याउनुहुनेछ (उत्पत्ति १२:१-३, २ शमूएल ७:१२-१६, गलाती ३:१६)।  यसैले मसीहको भूमिका बुझ्नु धेरै महत्त्वपूर्ण छ। तपाईंले उहाँप्रति आफ्नो भक्तिलाई समर्पण गरिरहनु हुँदा, के आशा गर्ने भनेर राम्रोसँग बुझ्नुपर्छ। मसीहको भूमिका बारे थप जान्न यहाँ क्लिक गर्नुहोस्।

काम गर्नुहोस् र फल फलाउनुहोस्

हामी सबै जना काम गर्नको लागि बनिएका थियौँ। तपाईले यस संसारमा नै त्यसैको लागि काम गरेर भौतिक फल अथवा परमेश्वरको राज्यमा काम गरेर अनन्तको निम्ति फल फलाउने भन्ने छनोट गर्नुपर्छ। यसैले गलाती ६: ७-१० मा लेखिएको छ कि, तपाईले शरीर वा आत्मामा जे पनि रोप्न सक्नुहुन्छ र तपाईले जे रोप्नुहुन्छ त्यसैको कटनी गर्नुहुनेछ। येशूको चेलाको रूपमा, तपाईं आफ्नै जीवनमा पनि पाप विरुद्धको लडन्तमा हुनुहुन्छ। स्वाभाविक रूपमा नै, तपाईंको शरीरले यस संसारको फल चाहन्छ, तर तपाईंको आत्माले परमेश्वरलाई चिन्न चाहन्छ। जब तपाईं पापमाथि विजयी बन्नुहुन्छ, परमेश्वरले तपाईंलाई झन् बढ्ता समझ र अनन्तको फल फलाउने क्षमता दिनुहुन्छ।

यो बुझ्न महत्त्वपूर्ण छ कि तपाईलाई आफ्नो जीवनलाई सुधार गर्ने, र परमेश्वरको मार्गहरू र उहाँका आज्ञाहरू प्रत्येक दिन आफ्नो जीवनमा लागू गरेर उहाँको राज्यमा जिउने क्षमता दिइएको छ। जब तपाईंले आफ्नो जीवनमा पापमाथि विजय प्राप्त गर्नुहुन्छ, र उहाँप्रति विश्वासयोग्य हुनुहुन्छ, परमेश्वरले तपाईंलाई उहाँको राज्यमा वृद्धि दिनुहुनेछ। तपाईं बढ्दै जाँदा, परमेश्वरले तपाईंलाई उहाँ र उहाँका मार्गहरू बारे थप समझ दिनुहुनेछ, ताकि तपाईं बढ्दै जानुहोस् र बढ्ता अनन्तको फल फलाउनुहोस्। हामी त्यो स्थानको लागि काम गर्दैछौँ, जुन स्थानको बारेमा येशूले मत्ती ५:१९ मा आफ्नो आज्ञाकारिताको आधारमा सबैभन्दा सानो वा महान हुने कुरा बताउनुभयो। येशूले भन्नुभयो, “… तर जसले यी आज्ञाहरू पालन गर्छ र सिकाउँछ, स्वर्गको राज्यमा त्यो महान् हुनेछ”।

हामीले पश्चात्तापमा जिउँदा काम गर्नुपर्छ, र तपाईले त्यो प्रक्रियामा जति गम्भीरता पुर्वक काम गर्नुहुन्छ, त्यति नै तपाईंले परमेश्वरलाई नजिकबाट चिन्नुहुनेछ। तपाईंले येशूलाई स्वीकार गर्नुको कारण परमेश्वरलाई अझ राम्ररी चिन्नु हो, र अनन्त जीवन भनेको पनि परमेश्वरलाई चिन्नु हो (यूहन्ना १७:३)। १ यूहन्ना २:३-५ ले भन्छ कि जब तपाईले उहाँका आज्ञाहरू पालन गर्नुहुन्छ, जब तपाई उहाँलाई खोज्नुहुन्छ र आज्ञाकारी हुनुहुन्छ, परमेश्वरले तपाईलाई उहाँको मार्गहरूको बारेमा अझ बढी प्रकाश दिनुहुन्छ अनि तपाईले परमेश्वरलाई चिन्नुहुन्छ।

तपाई सहभागी हुन लाग्नुभएको करार र त्यहाँ भएका मानिसहरुलाई बुझ्नु महत्त्वपूर्ण छ

हिब्रू ४:२ ले भन्छ, “… तिनीहरुलाई जस्तै हामीलाई पनि सुसमाचार प्रचार गरिएको थियो…” प्रभु येशूको प्रचार अनुसार सुसमाचार भनेको हाम्रो निम्ति पश्चात्तापको अवसर हो। लेवी २६:४०-४२ मा यसो लेखिएको छ, “तर यदि तिनीहरूले आफ्ना पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरू स्वीकार गर्छन् – तिनीहरूको विश्वासघात र मप्रति तिनीहरूको शत्रुता, जसले गर्दा मैले तिनीहरूलाई शत्रुहरूको देशमा पठाइदिएँ – तर जब तिनीहरूका खतना नगरिएका हृदयहरू नम्र हुनेछन् र तिनीहरूले आफ्नो पापको निम्ति पश्चाताप गर्नेछन्, तब म याकूबसँगको मेरो करार र इसहाकसँगको मेरो करार र अब्राहामसँगको मेरो करार सम्झनेछु, र म भूमिलाईसम्झनेछु।”

बाइबलमा भएका हरेक करार अघिल्लो करारको आधारमा बनेका छन्। गलाती ३:१५-१७ ले अब्राहामसँग परमेश्वरले गर्नुभएको करारको ४३० वर्षपछि दिइएको व्यवस्था (सिनै पर्वतमा) ले पहिले स्थापित भएको करारलाई रद्द गर्दैन। त्यो करार पछि, राजा दाऊदसँग मन्दिर निर्माण गर्नको निम्ति करार भयो, अनि त्यस पछि दाऊदको वंशबाट ख्रीष्टको जन्मको प्रतिज्ञा।

नयाँ करार इजरायलका सन्तानहरूसँग स्थापना गरिएको थियो, त्यसको अनुसार परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गर्नुहुनेछ ताकि तिनीहरू उहाँप्रति आज्ञाकारी हुनेछन् र उहाँले दिनुभएको व्यवस्थालाई पालन गर्नेछन् (यर्मिया ३१:३१-३४)। येशू त्यो नयाँ करारको मध्यस्थ हुनुहुन्छ, र त्यो करारमा भाग लिन चाहने सबैले राजा येशूप्रति समर्पणताको प्रतिज्ञा गर्नुपर्छ।

जसरी करार पालन गर्दाको परिणामहरु छन्, त्यसरी नै करारको अवज्ञा गर्दाको पनि परिणामहरू हुन्छन्। लेवी २६:२३-२४ मा भनिएको छ कि, यदि तपाईं परमेश्वरको इच्छा विरुद्ध हिंडिरहनुभयो भने, उहाँ तपाईंको इच्छा विरुद्ध हिंड्नुहुनेछ, र उहाँले व्यक्तिगत रूपमा तपाईंको पापको लागि सात पटक प्रहार गर्नुहुनेछ। जब उहाँले एक व्यक्तिको पछिल्लो अवस्था पहिलो भन्दा खराब र सात अरु आत्माहरू त्यस व्यक्तिमा पहिला प्रवेश गरेको भन्दा बढी दुष्ट भएको कुरा येशूले मत्ती १२:४३-४५ मा गर्नुभयो, उहाँले माथिको सन्दर्भलाई उधृत गर्नुभयो। परमेश्वरले लेवी २६:४०-४२ मा पनि प्रतिज्ञा गर्नुभएको छ कि, यदि हामीले पश्चात्ताप गर्यौं भने, उहाँले याकूब, इसहाक र अब्राहामसँग गर्नुभएको करारलाई सम्झनुहुनेछ। यही कारणले गर्दा येशू र बप्तिस्मा दिने यूहन्नाले पश्चात्ताप गर्न प्रचार गर्नुभयो, किनभने परमेश्वरको राज्य आउँदैछ। हाम्रो जिम्मेवारी पश्चात्तापको प्रक्रियाको निम्ति तयार हुनु र त्यसमा बढ्नु हो।

जब तपाईं येशूलाई ग्रहण गर्नुहुन्छ, तपाईं यहुदीहरुका राजा येशुवा, अर्थात् येशूलाई आफ्नो जीवन समर्पण गरेर परमेश्वरले यहुदीहरुसँग स्थापना गर्नुभएको करारमा सहभागी बन्नुहुन्छ।

अनन्तकालमा तपाईंको कार्य विवरण तपाईंको पश्चात्तापको स्तरमा निर्भर गर्छ

तपाईले कि त यस संसारकै फलको निम्ति संसारमा काम गर्दै हुनुहुन्छ, अथवा अनन्तको फलको निम्ति परमेश्वरको राज्यमा काम गर्दै हुनुहुन्छ। हरेक कुरामा छर्ने र कटनी गर्ने नियमको लागु हुन्छ, र जति धेरै तपाईंले पश्चात्ताप गर्नुहुन्छ, परमेश्वरले तपाईंलाई त्यति नै धेरै फल फलाउने क्षमता दिनुहुन्छ।